मार्टिन चौतारीमा मंगलवार 'महिला, मिडिया र ग्ल्यामरका सामाजिक–आर्थिक पक्ष' विषयमा बहस भएको थियो। मार्टिन चौतारी र चौखटको साझेदारीमा आयोजित बहस कार्यक्रममा ग्ल्यामर क्षेत्रका विषयलाई पनि महत्व दिने मिडियाको प्रतिनिधि शुक्रवार साप्ताहिकलाई बनाइएको थियो। यस साप्ताहिकका सम्पादक राजन नेपाल र अभिनेत्री प्रियंका कार्की बहसका मुख्य वक्ता थिए। अन्य विभिन्न क्षेत्रका व्यक्तित्व पनि बहसमा सहभागी थिए। बहसमा सहभागीले व्यक्त गरेका विचारः
राजन नेपाल, सम्पादक, शुक्रवार
शुक्रवार ग्ल्यामर क्षेत्रमा मात्र केन्द्रित रहेको छैन। यसले विभिन्न सामाजिक विषयवस्तुलाई कभरस्टोरी बनाउने गरेको छ। अहिलेसम्म प्रकाशित १६१ वटा अंकमा शुक्रवारले सिनेमा, संगीत, फेसन, सेलिब्रिटीमा केन्द्रित रहेर जम्मा १८ वटामात्र कभरस्टोरी गरेको छ।
शुक्रवारले प्रायः मूलधारका भनिने पत्रिकाले नछोएका सामाजिक विषयलाई कभरस्टोरी बनाउँदै आएको छ। ग्ल्यामर क्षेत्रका लागि ब्लोअप छापिने पृष्ठसहित जम्मा सात वटा पृष्ठ छुट्याइएको पत्रिकामा सवारी चालकको अन्तरवार्तादेखि सेलिब्रिटीसँग गरिएको अन्तरंग कुराकानी अटाउने गरेको छ।
शुक्रवारमा छापिने ब्लोअपमा तस्बिर खिचाएबापत मोडल तथा सेलिब्रिटीले कुनै पारिश्रमिक पाउने गरेका छैनन्।
यसले समाजका त्यस्ता वर्गको आवाजलाई उठाउँदै आएको छ, जो दैनिक पत्रिकाको समाचार विषय बनिरहेका छैनन्। बुढेसकालको पीडा, डेरावालको समस्यादेखि रेखा थापाको जवानीसम्ममा कभरस्टोरी प्रकाशित गरेर शुक्रवारले आफूलाई जनतासँग 'कनेक्ट' गर्ने कोसिस गरेको छ।
ब्लोअपमा सधैँ महिला नै छापिनुपर्छ भन्ने छैन। पुरुष मोडल या अभिनेता पनि छापिनुपर्छ। तर, पुरुष छापिँदा राम्रो रेस्पोन्स नपाइने शंका रहन्छ। हामी यसलाई परिवर्तन गर्ने मनस्थितिमा छौँ। पत्रिकाको सेल्समा ब्लोअपको हिस्सा कति हुन्छ भन्ने यकिन आँकडा नभएकाले पनि यसलाई चेन्ज गरिहाल्ने जोखिम नउठाइएको हो।
प्रियंका कार्की, अभिनेत्री
नेपालमा सेलिब्रिटीको स्टारडम र ग्ल्यामर क्षेत्रको आकर्षणको बारेमा व्यक्तिपिच्छे फरक–फरक धारणा भएकाले यो क्षेत्रको विकास स्वाभाविक गतिमा हुन सकेको छैन।
पैसा हुने जो कोही पनि सिनेमाको प्रोड्युसर हुन सक्ने र एउटा फिल्ममा आठ/दश लाख लगानी गरेकै भरमा सेलिब्रिटीको लहरमा उभिन पाउने भएका कारण नेपालमा ग्याल्मर क्षेत्रको व्यावसायिक हैसियत बनिसकेको छैन।
ग्याल्मर क्षेत्रका लागि न नीति–नियम छ, न सबैले फलो गर्ने इथिक्स नै छ। जसका कारण यो लथालिंग अवस्थामा रहेको छ।
ग्ल्यामर र भल्गारिटीबारे स्वस्थ बहस पनि हुन नसकेको अवस्थामा 'शुक्रवार' जस्ता पत्रिकाले जसरी कन्टेन्ट र तस्बिरहरू प्रकाशित गरिरहेको छ, म त्यसमा आपत्ति जनाउने ठाउँ देख्दिनँ।
शुक्रवारले अन्तर्राष्ट्रिय क्षेत्रका सेलिब्रिटी (हलिउड, बलिउड) का महिला कलाकारको जे जस्ता तस्बिर छाप्छ, ती सबै वाह! भन्ने खालको हुन्छन्। त्यसमा कुनै भल्गारिटी देखिँदैन। तर, हाम्रो सर्न्दभमा हामी त्यो लेभलमा तस्बिर खिचाउन सक्ने र पत्रिकाले छाप्ने अवस्थामा पुगिसकेका छैनौँ।
राम्रो फिगर भएकी र स्टारडम भएकी नेपाली कलाकारले पनि बिकिनीमा फोटसुट गराइन् र त्यो कतै छापियो भने त्यसमा आपत्ति मान्नुपर्ने कारण म देख्दिनँ। तर, त्यसका लागि ऊ बिकिनीमा सुन्दर देखिनुपर्योस। र, उसलाई हेर्न खोज्ने जमात पनि हुनुपर्योा।
कसले कस्तो कपडा लगाई, कस्तो फोटो छापियो भन्ने भन्दा पनि ग्ल्यामर क्षेत्रको विकास र वृद्धि कुन रूपमा भइरहेको छ, कलाकारले 'रिजनेबल' पारिश्रमिक पाएका छन् कि छैनन् जस्ता विषयमा बहस हुनुपर्छ।
No comments: